बुथ लेभेलबाटै मजबुत बनाउन जनमत पार्टी ‘मधेश कभरेज अभियान’मा लागेको छ । आगामी तिनै तहको निर्वाचनलाई लक्षित गर्दै सो पार्टीले तराई–मधेसका २४ वटा जिल्लामा अभियानको थालनी गरेको हो ।
विगतमा मधेसलाई छुट्टै राष्ट्र बनाउन जनमत संग्रहको माग राखेर स्वराज अभियान चलाएका डा. चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टी मुलधारको राजनीतिमा आएपछि संगठन निर्माणमा लागेको हो ।
तराई–मधेसका २४ जिल्लाको करिब २ हजार ६ सय वडामा बुथ लेभेलदेखि वडा हुँदै पालिका, क्षेत्र र जिल्ला तहसम्मको संगठन निर्माणको लागि ३ महिने अभियान चलाइएको जनमत पार्टीका महासचिव चन्दन सिंहले नेपाली पब्लिकलाई जानकारी दिए ।
अभियानअन्तर्गत ६ लाख सदस्यता रसिद प्रदान गरिसकिएको र मंसिर महिनाको अन्त्यसम्म आवश्यकताअनुसार थप रसिद थैली वडा तहसम्म पुर्याइने सिंहले बताए ।

मधेसको नाममा स्थापना भएका पार्टीहरु सत्ता स्वार्थमा तल्लिन भएपछि मधेशी नागरिकमा निराशा पलाएको भन्दै अधिकार र सम्मानका लागि आफुहरु जनताको घरघरमा पुगिरहेको उनले बताए ।
तराई–मधेसका २४ वटै जिल्लाका नागरिक पार्टीको विचार र सिद्धान्तप्रति आकर्षित भएकाले आगामी निर्वाचनमा आफुहरुलाई पुर्ण समर्थन दिने विश्वाससमेत महासचिव सिंहले व्यक्त गरे ।
‘मधेसी जनताले अधिकार र सम्मानका लागि परिवर्तन चाहेका छन्’ सिंहले भने, ‘हामी अधिकारसहितको संविधान र सम्मानसहितको सहभागिताका लागि जनतामाझ पुगिरहेका छौं ।’
जनमत पार्टीको मुख्य मुद्दा संविधान संशोधन, स्वायत्त प्रदेश र पुर्ण समानुपातिक समावेशी सहभागिता रहेको भन्दै उनले आफुहरुको सरकार आए मधेशका १० लाख नागरिकलाई रोजगारी दिने लक्ष्य राखेको बताए ।
मधेश कभरेज अभियानअन्तर्गत पार्टीका केन्द्रीय पदाधिकारीदेखि जिल्लास्तरका कार्यकर्ता लागिपरेका छन् ।