फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ।
सात महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाको पुनःनिर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो।
जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र एक ऐतिहासिक स्थल पनि हो। तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो। कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ।
हालसम्ममा ७० प्रतिशत संरचना पुनःनिर्माण भएको मेरिङदेन गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताए। करिब डेढदर्जन बढी घर संरचना निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ। आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोर पारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनःनिर्माणमा तीव्रता दिइएको स्थानीयवासीको भनाइ छ।
साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउँछन्। उनका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो।
पछिल्लो समय गाउँगाउँसम्म सडकको पहुँच तथा यातायात सुविधा पुगे पनि बाहिरबाट आयात हुने सामान दोभान बजारमै केन्द्रित गरेर त्यसपछि मात्र गाउँ पुग्ने मैवाखोला गाउँपालिका–३ का वडाध्यक्ष थर्ककुमार चोङ्बाङको भनाइ छ। त्यस्तै ग्रामीण क्षेत्रमा उत्पादित अलैँची, अम्रिसो, अदुवालगायत निकासी हुने सबै वस्तु दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ। यसरी जिल्लाको एक मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनःनिर्माणमा सुरुदेखि नै तीव्रता दिन थालिएको स्थानीयवासी बताउँछन्।
व्यापारिक केन्द्रका साथै अग्निपीडितले पुनःस्थापित हुनुपर्ने भएकाले संरचना पुनर्निर्माणमा चाँडो गर्नुपर्ने बाध्यता भएको उनीहरुको भनाइ छ। केही बचत भएको रकम खर्चिएर तथा ऋण काढेर भए पनि घर संरचना पुनर्निर्माण गर्नुको विकल्प नभएपछि आगलागीका विस्थापितले संरचना निर्माणको कार्य सुरु गरेका अग्निपीडित भोला पौडेलले बताए। उनका अनुसार केहीबाहेक अधिकांश घरधनी अग्निपीडितले नयाँ संरचना बनाउन थालेका छन्।
यता आगलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि स्थानीय सरकारका रूपमा रहेको मेरिङ्देन गाउँपालिकाले भने पुनर्निर्माण मापदण्ड बनाएको छ। नयाँ संरचना निर्माणमा पिलरसहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको थियो। हाल सोही मापदण्डानुसार घर तथा संरचनाहरु निर्माण हुँदै आएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले बताए।
दोभानलाई नमूना बजारका रूपमा पुनःस्थापित गर्ने उद्देश्यले पुनर्निर्माण मापदण्ड बनाएको गाउँपालिकाले जनाएको छ। अधिकांश काठ तथा जस्तापाता प्रयोग गरेर बनाइएका कच्ची घर संरचना भएका कारण आगलागीबाट छोटो समयमै आधा बजार जलेर खरानी भएको थियो। त्यसबेलाको आगलागीले ४० करोडभन्दा बढीको क्षति भएको थियो।
रासस/दिलकुमार लिम्बु