काठमाडौं– सात गाउँपालिका रहेको हुम्लामा नेपाली कांग्रेसको गाउँपालिकास्तरको अधिवेशन सुरु भएको छ। शनिबार बिहानबाट अहिलेसम्म चार गाउँपालिकामा सर्वसम्मतबाट नेतृत्व चयन गरिएको छ।
सिमकोट, नाम्खा, खार्पुनाथ र ताँजकोट गाउँपालिकामा सहमतिका आधारमा सभापति चयन गरिएको नेपाली कांग्रेसले जानकारी दिएको छ। ताँजकोटमा कृष्ण मल्ल, खार्पुनाथमा टक्क शाही, सिमकोटमा धर्मराज रोकाया र नाम्खामा सुनामबहादुर लामा सभापतिमा सर्वसम्मत चयन भएको बताइएको छ। यस्तै अदानचुली गाउँपालिकामा सर्वसहमतिबाट नेतृत्व छनोट गरिने भनिए पनि सहमति जुट्न नसकेको जनाइएको छ।
यसैगरी चङ्खेली र सर्केगाड गाउँपालिकामा अधिवेशन सुरु नभएको बताइएको छ। गाउँपालिकाभित्र रहेका वडाका आधारमा २३ देखि ४५ जनासम्म अधिवेशनबाट नेतृत्व चयन गरेर निर्वाचित गरिएको जानकारी प्राप्त भएको छ। सिमकोट गाउँपालिकामा यसअघि नै सभापतिमा धर्मराज रोकायालाई सर्वसहमतिबाट निर्वाचित गरिएको छ।
रासस