पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल ‘पीपीएलए’ को कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने भएका छन्।
अध्यक्ष ओली पक्षले एक्लौटी रुपमा कार्यक्रम राखेको भन्दै पीपीएलएका अध्यक्ष रुद्र नेपालले असन्तुष्टि जनाएका थिए। उनले कार्यक्रममा नजान आफ्नो पक्षलाई आह्वान नै गरेका थिए। उनी पूर्व माधव नेपाल समूहका हुन्।
तर ओली निकट रहेका पीपीएलएका महासचिव ईश्वरी भट्टराईले पुनर्जागरण रोकेनन्। यो कार्यक्रम रोक्न पीपीएलएका इन्चार्ज रघुजी पन्तले सुझाव दिएका थिए। २ जेठ २०७५ अगाडिको एमाले पार्टी संरचनामा पीपीएलएका इन्चार्ज पन्त र अध्यक्ष नेपाल थिए।
अहिले ललितपुरको च्यासलमा पीपीएलएको कार्यक्रम चलिरहेको छ। अध्यक्षता उपाध्यक्ष रमा श्रेष्ठले गरेकी छन् भने एमाले स्थायी कमिटी सदस्य सुवास नेम्वाङ अतिथि छन्।
गत ८ भदौको स्थायी कमिटी र १० भदौको केन्द्रीय कमिटी बैठकले दशबुँदे सहमतिअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा फर्काइने निर्णय गरेको छ।