धनगढीको चटकपुर र कञ्चनपुरको राजघाट सिमानास्थित निर्माणाधिन पक्की पुल बगेपछि आवागमन अवरुद्ध भएको छ।
मोहना नदीमा बढेको पानीको बहावले अस्थायीरूपमा सञ्चालनमा ल्याइएको पुलको माटो बगाएपछि आवतजावत ठप्प भएको कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ का स्थानीय लोकेश जोराले जानकारी दिए।
‘लामो समयपछि मुस्किलले निर्माण भइरहेको पुल लगभग अन्तिम चरणमा पुगेको थियो। पानीको बहावले पुलको पश्चिम भाग बगाएकाले आवागमनमा निकै समस्या भएको छ,’ उनले भने। चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको र अहिलेको बहाव भने सामान्य बन्दै गएको जनाइएको छ।