नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को नयाँ संस्करण सिजन ४ मा निर्णायकहरु निश्चित भएका छन्। नेपाल आइडलले सम्भुजित बास्कोटा, सुगम पोखरेल र सुवानी मोक्तानलाई निर्णायकमा अनुबन्ध गरेको छ।
नेपाल आइडलको पहिलोदेखि तेस्रो सिजनसम्म न्ह्यु बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक रहेकोमा यो सिजनबाट नयाँ जज ल्याइएको हो।
शोको होस्ट आशिफ शाहले गर्नेछन् भने उनको को–होस्टमा रेश्मा घिमिरे रहने छिन्।
निर्णायकको अनुबन्धनसँगै आइडलको डिजिटल अडिसन पनि सुरु भएको छ। भदौ १ देखि सुरु भएको अडिसन भदौ ३१ गतेसम्म खुला रहनेछ।
अडिसन दिन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ। अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ। र, आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गरेर अपलोड गर्नुपर्ने निर्माण पक्षले जनाएको छ।
डिजिटल अडिसन पास गर्नेहरुलाई फिजिकल अडिसनमा समावेश गरिनेछ। अडिसन देश वा विदेश जहाँबाट पनि दिन पाइनेछ।