माधव नेपाल पक्षले आफ्नो नयाँ पार्टीको नाम फेरेको छ। नाम फेरिएसँगै अब नेपाल पक्षको नयाँ पार्टीको नयाँ नाम ‘नेपाल एकीकृत समाजवादी’ भएको छ।
यो सँगै उनीहरुको पार्टीको नामबाट एमाले शब्द हटेको छ।
यसअघि नेपाल समूहले निर्वाचन आयोगमा नयाँ पार्टी ‘नेकपा एमाले समाजवादी’ नाउँमा दर्ता गराएको थियो। तर, यसअघि नेपालले प्रस्ताव गरेको नाम मुल पार्टीसँग जुधेर एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि शुक्रबार राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका छन्।
त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्याइएको छ। तर, पार्टीको चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन। नेपाल समूहले नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरेको थियो। चुनाव चिह्न पनि अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो।