केही दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल छ। भिडियो हो, पशुपतिनाथ मन्दिर परिसरमा एक मुश्लिम धर्मावलम्बीले नमाज पढिरहेको। भिडियोमा देख्न सकिन्छ, सेतो वस्त्र धारण गरेका एक व्यक्ति ठूल्ठूलो स्वरमा नमाज पढिरहेका छन्।
यो भिडियोलाई अहिले धेरैले सकारात्मक रुपमा लिएर लाइक, कमेन्ट तथा सेयर गरिरहेका छन्। खासगरी यो भिडियो टिकटकमा निकै भाइरल छ। तर, चौतर्फी वाहवाही पाइरहेको यो भिडियोप्रति सनातन धर्म महासंघ नेपालले भने विरोध जनाएको छ। महासंघले यस कार्यलाई अवाञ्छित क्रियाकलापको संज्ञा दिँदै यसमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
‘हिन्दु धर्मावलम्बीहरको उपासनाको केन्द पशुपतिनाथको परिसरभित्र भइरहेको यस प्रकारको अवाञ्छित क्रियाकलापप्रति सनातम धर्म महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासंघका प्रवक्ता राजन अधिकारीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पशुपति क्षेत्रमा पराई अतिक्रमण जस्तो देखिने विषयमाथि पशुपति क्षेत्र विकास कोषलगायत सम्बन्धित निकायको ध्यान नजानु र यस्ता किसिमका विषयलाई बेवास्ता गरिएकोमा सनातम धर्म महासंघ नेपाल घोर भत्सर्ना गर्दछ।’
महासंघले भिडियोमा देखिएका व्यक्तिमाथि पशुपति विकास कोषले छानविन गर्नुपर्ने पनि बताएको छ।
