पोखरामा एकै मञ्चबाट ८० देशका राष्ट्रगान गाउने तयारीमा कोभिड–१९ को दोस्रो लहरका कारण बिराम लागेपछि विश्व राष्ट्रगान यात्री रामजी नेपाली अहिले गृहजिल्ला फर्किएका छन्।
गायक नेपालीले कोरोना महामारीले विश्वयात्रामा त अवरोध खडा गर्यो नै, देशभित्रै पनि निष्फिक्री घुम्न पाएका छैनन्। मानिस भेला पारेर कार्यक्रम गर्नु त झनै टाढाको कुरा भयो। पर्यटकीय शहर पोखराको फेवाकिनारमा उभिएर विभिन्न देशका राष्ट्रगानमार्फत विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देश प्रवाह गर्ने उहाँको योजना तत्काललाई पर सरेको छ।
महामारी थामिएर स्थिति सहज हुनासाथ कार्यक्रमको चाँजोपाँचो मिल्नेमा उनी निर्धक्क छन्। पोखराका स्थानीय आयोजक संस्था र शुभेच्छुकले पनि कार्यक्रम गरी छाड्ने वचन उनलाई दिएका छन्। लम्बिँदो निषेधाज्ञाबीच केही समय घरमै बसेर ध्यान, साधना गर्ने र राष्ट्रगान गाउने अभ्यासलाई निरन्तरता दिन जन्मथलो फर्केको नेपालीले सुनाए।
महामारीका बेला लामो यात्रा तय गर्न नपाए पनि उनले नजिकका गन्तव्य चहार्ने, पर्यटन प्रवद्र्धनमा स्थानीयवासीसँग हातेमालो गर्ने र आफ्नो राष्ट्रगानको अभ्यासलाई निरन्तरता दिँदै आएका छन्। सो सिलसिलालाई नेपालीले यसपालि काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा पर्ने पर्यटकीय लेक बेलढुङ्गासँग जोडे।
गत सप्ताहन्तमा पर्यटनकर्मी र पत्रकारकासाथ पुगेका उनले बेलढुङ्गामा उभिएर राष्ट्रगान गाए। आफ्नो विश्वयात्राको सन्देश दिए। त्यहाँ उनले नेपालसहित छिमेकी देश भारत, चीन, मित्रराष्ट्र अमेरिका र फ्रान्सको राष्ट्रगान गाए। चालीस वर्षीय गायक नेपालीले पर्यटकीयस्थलबाट प्रतिकात्मकरुपमा सन्देश जाओस् भनेर राष्ट्रगान गाएको बताए।
त्यसबखत बेलढुङ्गामा उपस्थित स्थानीयवासीसहित सबैले देशको राष्ट्रगानको सम्मान गरे। गायक नेपालीप्रति श्रद्धा राखे। समुद्री सतहदेखि २६१४ मिटरको उचाइमा अवस्थित बेलढुङ्गाबाट राष्ट्रगान गाउँदा आनन्दको अनुभूति भएको नेपालीले सुनाए। “देश विदेशका धेरै समारोहमा मैले राष्ट्रगान गाएको छु, यहाँ उभिएर गाउँदा नयाँ र रोमाञ्चक अनुभव सँगाले”, उनले भने।
बेलढुङ्गा एउटा उदाउँदो पर्यटकीय गन्तव्यस्थल हो। त्यसको प्रवद्र्धनमा बागलुङ र म्याग्दी दुवैतर्फबाट प्रयास भइरहेको छ। ‘प्राकृतिक दृश्यावलोकन’ स्तम्भका रुपमा चिनिने बेलढुङ्गा पदयात्रासहित सूर्योदय र मनोरम हिमशृङ्खला अवलोकनका लागि पर्यटकको रोजाइमा पर्छ। त्यहाँ अहिले पर्यटनमैत्री हिसाबले पूर्वाधार बनिरहेका छन्।
बेलढुङ्गा पुग्नुभन्दा अघिल्लो रात राष्ट्रगान यात्री नेपालीले धम्जाको ओखलेमा रहेको सामुदायिक घरबास (होमस्टे) को पाहुना सत्कारकक्षमा पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। कुनैताका ‘दोहोरी’ र ‘लोकपप’ गाउँदै हिँड्ने गायक नेपालीको अहिले मूल विधा नै राष्ट्रगान भएको छ। विश्वका सबै देशका राष्ट्रगान गाउने ध्याउन्नमा उनी छन्। नेपालीको सङ्गीत अभ्यास र साधना पनि त्यसमै केन्द्रित छ।
यात्रामा हुँदा होस् या विस्तारामा निदाउनुअघिसम्म उहाँ राष्ट्रगानको अभ्यासमै लिप्त देखिन्छन्। साथै रहेका पर्यटन अभियानकर्मी आरके अदीप्त गिरीले गायक नेपालीको क्षमतालाई ‘विलक्षण’को उपमा दिए। उनले अलग भाषाका सयौँ राष्ट्रगान गाउनसक्नु चानचुने विषय नभएको बताए। “उहाँको प्रतिभा, क्षमताबारे पछि अध्ययन–अनुसन्धान पनि हुन सक्छ”, गिरीले भने।
गायक नेपालीले आफ्नो सम्पूर्ण ध्यान, दृष्टि कसरी विश्वभरका राष्ट्रगान गाउने भन्नेमा रहेको र त्यसकै अभ्यासमा तल्लिन भइरहेको बताए। कोरोना महामारीले विश्वयात्रा रोकिन पुगे पनि फुर्सदको समय सङ्गीत साधनामा बिताउन पाएको नेपालीले सुनाए। यसबीचमा उनी १३० देशका राष्ट्रगान गाउन सक्ने भइसकेका छन्।
बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका नेपाली ‘विश्व बन्धुत्व, साँस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित २५ देशका राष्ट्रगान गाउँदै सन् २०१७ देखि विश्वयात्रामा निस्किएका थिए। संयुक्त राष्ट्रसङ्घका १९५ वटै सदस्य राष्ट्रका राष्ट्रगान गाउँदै विश्वका २३२ देश पुग्ने उनको महत्वकांक्षी सपना छ। सन् २०२५ भित्र विश्वयात्रा पूरा गर्ने उनको योजना कोरोनाकै कारण पछाडि धकेलिने देखिएको छ।
विश्वभर एकाएक फैलिएको कोरोना महामारीका कारण उनले आफ्नो विश्वयात्राबीचमै स्थगन गर्नुपरेको थियो। भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा विसं २०७६ पुसमा सिलुगढीबाट नेपाली घर फर्किएका थिए। उनले सन् २०१७ मा बेल्जीयम, फ्रान्स, स्पेन र नेदरल्याण्डका विभिन्न शहरमा राष्ट्रगान गाइसकेका छन्। चाँडै स्थिति ठीकठाक भए आफ्नो विश्वयात्रा फेरि सुरु हुनेमा नेपाली आशावादी छन्।
सबैभन्दा धेरै देशका राष्ट्रगान गाउनसक्ने गायकका रुपमा विश्व कीर्तिमान पनि राख्ने उनको लक्ष्य छ। संसारका अनेक भाषामा बनेका राष्ट्रगान गाउनु चुनौतीपूर्ण भए पनि त्यसलाई देश चिनाउने माध्यम र आफ्नो आत्म गौरवका रुपमा नेपालीले स्वीकारेका छन्। नेपालीले गत वर्ष विश्व पर्यटन दिवसको सन्दर्भ पारेर यहाँ आयोजित समारोहमा एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाएका थिए।