गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको शुक्रबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको हो।
मल्लरानी गाउँपालिका वडानम्बर–३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी शाखामा खरिदार पदमा कार्यरत थिए। गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्युठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु१ज १६५५ नम्बरको जिप दुर्घटना परेको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते परियारसहित ६ जनालाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो। गम्भीर घाइतेमध्ये अरु पाँच जना भने उपचारपछि घर फर्किसकेका छन्।
दुर्घटनामा परेर जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत चार जना कर्मचारी र चालक गरी पाँच जनाको मृत्यु भएको थियो। जिपमा सवार १७ मध्ये १२ जना घाइते भएका थिए।
जिप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट करिब १५० मिटर तल खसेको थियो।