कैलालीमा एक वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन्। कैलालीको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरी हतियारसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले वडाध्यक्ष चौधरीसहित धनगढी उपमहानगरपालिका–२ का ४६ वर्षीय मोहितकुमार शाहलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
बा १७ च १३१२ नम्बरको जिपलाई चेकजाँच गर्ने क्रममा जिपभित्र लुकाई राखिएको अवस्थामा बाह्रबोर १, त्यसको कार्टिज १ र पोइन्ट टु–टु १ थान, त्यसको गोली १० राउण्डसमेत फेला पारी बरामद गरिएको उनले बताए।
चौधरी र शाह दुवैलाई पक्राउ गरी हातहतियार खरखजाना शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ।