विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे अगाडि सारेको प्रस्तावमा राजनीतिक विश्लेषक तथा तत्कालीन साझाका संस्थापकसमेत रहेका विवेकशील साझाका पुर्वनेता मुमाराम खनालले आफ्नो धारणा सार्वजनिक गरेका छन्। खनालले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राय राख्दै महाधिवेशन नै नभएको दलका अध्यक्षले राखेको विचार व्यक्तिगत नहुने टिप्पणी गरेका छन्।
‘महाधिवेशन नै नभएको दलमा त्यसका अध्यक्षले राखेको विचार व्यक्तिगत विचार भन्ने हुँदैन,’ उनले लेखेका छन्, ‘बरु त्यही विचारको वरिपरि संगठित रहेको दल भन्ने बुझिन्छ। हालै चर्चामा आएको रवीन्द्र मिश्रको राजनीतिक मार्गचित्र गत सालको लुम्बिनी भेलाबाट सार्वजनिक भएकै मार्गचित्र हो। अहिले लुम्बिनी भेलाको थप व्याख्या मात्र हो, कुनै नयाँ विषय होइन।’
खनालले दलमा मिश्रको सोच विपरीत आउने सोच केवल प्रतिक्रिया मात्र मानिने र दलमा ती प्रतिक्रियाले कुनै ठाउँ नपाउने बताएका छन्। खनालले पार्टी मिश्रको सोच अनुरुप नै चल्ने पनि बताएका छन्।