पछिल्लो एकहप्तादेखी काठमाडौं उपत्यकाका विभिन्न सडकहरुमा फोहोरको डङ्गुर देख्न पाइन्छ। काठमाडौं महानगरपालिकाले फोहोरको उचित व्यवस्थान नगर्दा छेउबाट हिड्न समेत अप्ठ्यारो हुनेगरी मुल सडकहरुमै फोहोर जम्मा भएका छन्।
बानेश्वर, अनामनगर, पुतलीसडक, बागबजार, कालिमाटी, रबीभवन असनलगायतका क्षेत्रमा फोहोर नउठेको स्थानियबासीहरुले गुनासो गरेका छन्।
यता काठमाडौँ महानगरपालिकाले भने काठमाडौँ उपत्यकाको विभिन्न स्थानको फोहर व्यवस्थापन भइसकेको जनाएको छ। कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बुधबार साँझसम्ममा सबै स्थानको फोहर व्यवस्थापन भइसकेको दावी गरे।
‘वर्षाको समयमा उपत्यकामा अन्य समयको भन्दा बढी फोहर उत्पादन हुने र बाटोका कारण नियमित व्यवस्थापन गर्न केही कठिन भए पनि हालका लागि समस्या समाधान भएको छ।’ उनले भने।
विभाग प्रमुख श्रेष्ठले यस्तो दाबी गरे पनि काठमाडौंको मुख्य सडक पुतलीसडकलगायतका स्थानकै सडकहरुमा फोहोरको डङ्गुर देखिन्छ।
उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ। त्यसमा सबैभन्दा बढी कामपाबाट करिब ६०० मेट्रिक टन फोहर निस्कने गरेको छ। दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
सामान्यतया प्रत्येक दिन उपत्यकाबाट निजी र महानगरपालिकाका गरी २०० गाडी फोहर विसर्जनका लागि सिसडोल लगिने भए पनि अहिले वर्षाको समय भएकाले दैनिक १०० मात्र फोहरका गाडी विसर्जनस्थलमा पुग्ने गरेका छन्।