नेपाली पार्कर दिनेश सुनारले पाँचौ पटक गिनिज बुक अब वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन्। सुनारले पार्कर खलकै अर्को विधामा रेकर्ड कायम गरेका हुन्।
यसअघि चार पटकसम्म विश्व कीर्तिमान राखिसकेका सुनारले गत मार्चमा ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट’ शीर्षकमा विश्व रेकर्डमा प्रयास गरेका थिए।
सन् २०१७ मा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल इन वान मिनेट’ मा पहिलो विश्व रेकर्ड राखेका थिए। त्यसपछि सन् २०१८ मा ‘द मस्ट ब्याकवार्ड सोमरसल्ट एगेन्स्ट वाल इन ३० सेकेन्ड’ मा दोस्रो विश्व कीर्तिमान बनाए। दिनेशले ३० सेकेन्डमा ‘द मस्ट ट्वीस्टीङ ब्याकफ्ल्पि अफ वाल’ मा तेस्रो कीर्तिमान राखेका थिए। त्यस्तै २०७६ माघमा ट्राम्पोलिनमा ‘ब्याक सोमरसल्ट’ अर्थात् उफ्रिन मिल्ने लचकदार रबरको सामाग्रीमा उल्टो जम्प हानेर चौथो वल्र्ड रेकर्ड कायम गरेका थिए। उनले एक घण्टामा ४६० पटक ट्राम्पोलिनमा ब्याक समरसल्ट गरेका थिए।
सुनार सशस्त्र प्रहरी बलमा जागिरे थिए। अहिले उनी जागिर छाडेर पार्कर खेल र नेपाललाई विश्वमाझ चिनाउनका लागि प्रयत्नरत छन्।