दोस्रो लहरको कोभिडको संक्रमण कम हुँदै गएपछि अहिले देशैभर लकडाउन खुकुलो बनाइँदै छ।
लकडाउन खुकुलो बनाउँदै लगिएपछि विभिन्न विश्वविद्यालयले विभिन्न तहका स्थगित परीक्षा तथा प्रवेश परीक्षाको रुटिन निकाल्न थालेका छन्। स्थागित परीक्षाको रुटिन प्रकाशित हुन थालेपछि कोभिडको दोस्रो लहरको कहरबाट र शहरको महंगीबाट जोगिन आआफ्नो गृह जिल्ला पुगेका विद्यार्थीहरुलाई सहरतिर लाग्ने चटारोले च्याप्पै समातेको छ । एक जिल्लादेखि अर्को जिल्लामा प्रवेश गर्नका लागि कोरोना नेगेटिभ रिपोर्ट चाहिने प्रावधान गरिएको छ ।
तिनै विद्यार्थीहरुको सहजताका लागि विवेकशील साझा युवा संगठनले एमबिसिएस लगायत सबै प्रवेश परीक्षा दिने विद्यार्थीको निःशुल्क पीसीआर परीक्षण र संक्रमित परीक्षार्थीका लागि यातायात तथा स्वास्थ क्वारेन्टिनको व्यवस्था गर्न माग गरेको छ ।
चिकित्सा शिक्षा आयोगले असार १५ गते जारी गरेको सूचना बमोजिम एकीकृत प्रवेश परीक्षामा विद्यार्थीले परीक्षाको ७२ घण्टा अघि गर्नुपर्ने पीसीआर परीक्षणबारे ध्यानाकर्षण जनाउँदै संगठनले उनीहरूको पीसीआर परीक्षण निःशुल्क गर्नुपर्ने माग गरेको हो।
साथै प्रवेश परीक्षाका लागि दर्ता भएका सम्पूर्ण विद्यार्थीहरूलाई प्राथमिकताको साथ यथाशीघ्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि माग गरिएको छ।
‘एउटा विद्यार्थीले चार हजार रूपैयाँ दस्तुर तिरेर परीक्षा फारम भरी परीक्षा दिँदै गर्दा फेरि थप रकम तिरेर पीसीआर परीक्षण गर्न लगाउनु विद्यार्थीका निम्ति न्यायोचित छैन,’ संगठनले भनेको छ, ‘सरकारी अस्पतालहरूमा कोरोना परीक्षणको नतिजा आउने समय निश्चित नै नहुने र निजीमा दुई हजार तिरेर पीसीआर परीक्षण गर्नु विद्यार्थी र अभिभावकका निम्ति थप आर्थिक भार त हो नै साथै यो सुनौलो सपना देखिरहेका कलिला मस्तिष्कहरूमा सरकारको अवाञ्छित शोषण हो।’
यो प्रवेश परीक्षा छात्रवृत्तिको निम्ति भएको र परीक्षामा परीक्षार्थीहरूले दुई तीन विषयसम्म पनि फारम भर्ने गरेकाे संगठनले जनाएको छ। त्यसैले प्रत्येक परीक्षाको ७२ घण्टा अघि पीसीआर परीक्षण विद्यार्थीलाई नै गर भन्नु अव्यावहारिक, गैरजिम्मेवार र असह्य भएको युवा संगठनको भनाइ छ।
यस्तै संक्रमित विद्यार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न सहज यातायातको व्यवस्था गर्नुपर्ने पनि संगठनको भनाइ छ। सम्बन्धित विद्यार्थीका निम्ति परीक्षा केन्द्र नजिक स्वस्थ र सहज आइसोलेसन तथा क्वारेन्टिनको व्यवस्थासमेत सरकारले नै गरिदिनुपर्ने संगठनले माग गरेको छ।