प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी कार्यालयमा डाकिएको बैठकले रिक्त रहेका ४ सचिव नियुक्त गर्नेछ । सचिव रिक्त रहेका स्थानमा पदपुर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको थियो ।
आयोगले प्रशासन समूहबाट सहसचिवमा सिफारिस गरेका गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करमध्ये एकजना सचिवमा नियुक्त हुनेछन् ।
आयोगले कृषा तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराललाई सिफारिस गरेको छ ।
त्यस्तै, इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव नियुक्त हुनेछन् ।
यता प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा. दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिवमा नियुक्त हुने पक्का छ । मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकले मन्त्रालयलगायतका आधारमा अन्य निर्णयहरु गर्नेसमेत जनाइएको छ ।