पर्सागढी नगरपालिकाका जनप्रतिनिधिले नै नगरपालिका अनियमितताको अखडा भएको बताएका छन्। सोमवार वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरेर जनप्रतिनिधिहरुले नगरपालिका भित्र करोडौको अनियमितता भएको सार्वजनीक गरेका हुन्।
उनीहरुले नगरपालिका अनियमितताको अखडा बनेको तर छानविन गरेर कारवाही गर्ने कोही नभएको भन्दै दिग्दारी प्रस्तुत गरेका थिए। नगरपालिकाले असार १० गते सम्पन्न गरेको नगरसभा समेत गणपुरक नभएको उनीहरुको दावी छ।
नगरसभामा पेश गर्ने नीति कार्यक्रम तथा बिनियोजन बिधयक लगायत कार्यपालिकाबाट स्वीकृति गर्नु पर्ने त्यो समेत नगरेको उपप्रमुख अर्चना चौधरीले बताइन। ‘लोकतन्त्रको हुर्मत कसरी लिइन्छ त्यसको नमुना पर्सागढीमा देखियो,’ उपप्रमुख चौधरीले भनिन्।
बिनियोजन बिधयक प्रस्तुत गर्ने बैधानिक अधिकार उपप्रमुखमा रहेको भएपनि मेयर लोकनारायण यादवको बलमिच्याईका कारण आफू त्यो अधिकारबाट बन्चित भएको बताइन। असार १० गते नै पसागढी नगरपालिकाको नगरसभाले नीति कार्यक्रम र सबै बिधयक पारित गरिसकेको छ।
पर्सागढी नगरपालिकामा हरेक नगरसभामा लफडा हुने गरेको छ। चौथो नगरसभामा सभाका सदस्यलेनै कुर्सी फालाफाल गरेका थिए। यस पटक पनि नगरसभाका सदस्यहरुले बिरोधको मोर्चा कसेका छन्।
‘गतवर्षको क्वारेन्टिन संचालनमा करोडौ रुपैयाँ अनियमितता भएको छ,’ नगरसभा सदस्य अनिलप्रकाश रेग्मीले भने, “हाम्रो आरोप मिथ्या हो भने खर्च सार्वजनीक गर्न आग्रह छ।” लोकतन्त्रको नाम जपेर अपारदर्शी रुपमा काम गर्ने जनताको बिकास बजेटमा अनियमितता गर्ने कुरा अव अति भयो संचार माध्यमलाई आफूहरु गुहार गर्न आएको रेग्मीले बताए।
केही वडाध्यक्षहरुले वडा सदस्यको किर्ते सही गरेर अपचलन समेत गरेको उनीहरुले सार्वजनीक गरे। वडा नं ४ का वडाध्यक्षले वडासदस्यको किर्ते हस्ताक्षर गरेर अनेकौ अपचलन गरेको पत्रकार सम्मेलनमा एक नगरसभा सदस्यले जानकारी दिए।
वडा सदस्ष्यहरुलाई र उपप्रमुखलाई अपमान गर्ने अपशब्द प्रयोग गर्ने काम हुदै आएको उनीहरुले आरोप लगाए। अहिले सार्वजनीक गरिएको नीति तथा कार्यक्रममा वडा नं ९ का वडाध्यक्ष बाहेक सबैले हस्ताक्षर गरेका छन्।
वडा नं १ का वडाध्यक्ष र ८ वडाध्यक्ष मेयरका दाया र बाया शक्ति भएको र उनीहरुकै अनुसार मेयर अलोकतान्त्रिक बाटोमा हिडेको नगरसभा सदस्यहरुले बताए। नगरसभा सदस्यहरुले आफूहरुसंग २९ जना रहेको अर्को नगर सभा आफूहरुको माँग रहेको रेग्मीले बताए।
पारदर्शीता कायम गर्न मेयरलाई आफूहरुले चुनौती दिएको रेग्मीले बताए। प्रजातन्त्रलाई आदर्श मान्ने मेयरले २९ जना नगरसभा सदस्यहरुको पनि सहभागिता हुने गरि अर्को नगरसभा गरे मात्र प्रजातन्त्रवादी भएको ठहरिने उनले बताए।
2