पछिल्ला केही दिनयता चियापसलदेखि सामाजिक सञ्जालसम्म एउटा विषयले खुबै चर्चा पाइरहेको छ। विषय हो, जातीय विभेद। असार १ गते सञ्चारकर्मी रुपा सुनारले जातका कारण कोठा पाइनन्।
आफूलाई जातकै कारण कोठा दिन इन्कार गर्ने काठमाडौँ बबरमहल निवासी घरधनी सरस्वती प्रधानविरुद्ध सञ्चारकर्मी सुनारले प्रहरीमा उजुरी दिइन्। सुनारको उजुरीपछि घरधनी प्रधानलाई प्रहरीले पक्राउ गरेर तीन दिन हिरासतमा राख्यो।
घरधनी प्रधान जातीय भेदभावको कसुरमा पक्राउ परेसँगै नेपाली समाजमा जातीय व्यवस्था र भेदभावलाई लिएर व्यापक छलफल हुन थाल्यो। एक थरिले आफ्नो घर कसलाई भाडामा दिने, कसलाई नदिने भन्ने अधिकार घरधनीमा हुने भन्दै घरधनी प्रधानको पक्ष लियो भने अर्को थरिले घर जसको भए पनि घरधनीले जात हेरेर कोठा दिने नदिने निर्णय गर्नु पुर्ण रुपमा गलत भएको भन्दै सञ्चारकर्मी सुनारको पक्ष लियो।
घरधनी प्रधानविरुद्ध थप प्रमाण नजुटेपछि उनी बुधबार छुटेकी छिन्। तर, यो विषयउपरको बहस भने अझै सेलाएको छैन। यस विषयउपर आ–आफ्नो धारणा राख्ने क्रम चलि नै रहेको छ। यसमा कोठावालदेखि घरधनी, पत्रकारदेखि वकिल, कलाकारदेखि राजनीतिज्ञ सबैले आआफ्नो धारणा राखिरहेका छन्।
यसै क्रममा अभिनेत्री केकी अधिकारी पनि यसमा सामेल भएकी छन्। उनले शुक्रबार बिहान आफ्नो फेसबुक फ्यान पेजमा एउटा पोस्ट गरेर यो छलफलमा आफूलाई सहभागी गराएकी छन्। तर, अभिनेत्री अधिकारीले प्रत्यक्ष रुपमा लेखेकी छैनन् वा भनौँ सुनार र प्रधानमा काेहि एकको पक्ष लिएकी छैनन्। कतिसम्म भने उनले जातीय भेदभाव भन्ने शब्दसमेत प्रयोग गरेकी छैनन्।
यद्धपि उनले अप्रत्यक्ष रुपमा जातीय विभेद गलत हो भने भनेकी छन्। यति मात्र होइन, अधिकारीले अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालका व्यावहारिक एवम् वैचारिक विभेदप्रति माफी मागेकी छन्।
‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालका व्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर (ठेस) का लागि म अन्तरहृदयबाट क्षमाप्रार्थी छु।’ अधिकारीले फ्यान पेजमा लेखेकी छन्।
अधिकारीले हामी सबैभित्र जानी नजानी कुनै न कुनै प्रकृतिको, भावानाको, सोचको विभेद दृश्य–अदृश्य रुपमा जकडिएको हुने बताएकी छन्। हामीभित्र भएको विभेदको जरो भित्रैदेखि उखेलेर फाल्न हामी आफूले आफैँलाई नियाल्न र मुल्यांकन गर्न आवश्यक भएको पनि उनको ठम्याई छ।
‘आफूले आफूलाई नियाल्न, मुल्यांकन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस्।’ उनले लेखेकी छन्। रुपा सुनार प्रकरणमा जस्तै अधिकारीको यो विचारमाथि पनि मानिसहरुले मिश्रित प्रतिक्रिया जनाएका छन्।
कतिपयले उनलाई सामाजिक मुद्धामा यसरी खुलेर बोलेकोमा धन्यवाद दिएका छन् भने कतिपयले उनलाई यस्तो विवादित मुद्धामा बोलेकोमा गाली पनि गरेका छन्। यसरी प्रतिक्रिया जनाउनेमध्ये अधिकांश उनको प्रशंसा गर्नेहरु नै छन्।