काठमाडौं– नेपाल प्रहरीले आज उपत्यकामा अत्यावश्यक खाद्यान्न डेलिभरी गर्दै आएका व्यक्ति र ई–कमर्सका सञ्चालकलाई पक्राउ गरेको छ ।
अत्यावश्यक सेवा दिँदा हस्तक्षेप गरिएको भन्दै फुड डेलिभरी र ई–कमर्स सञ्चालकले असन्तुष्टि जनाएका छन् । युजी केक्स् केक बेकरी सञ्चालिका निकिता आचार्य भन्छिन्, ‘अत्यावश्यक सेवा दिँदा पनि प्रहरीले बिनासूचना अपराधीलाई जस्तो गरी पक्राउ गर्यो । लकडाउन सुरु भएको एक हप्ता भइसक्दा केही गरेन । केही गर्नै परे पनि सूचना दिनुपर्ने हो ।’
निकिता आचार्य, सिइओ, युजी केक्स्
उनले आफू पक्राउ पर्दा कार्यालयमा भीडभाड नभएको बताइन् । उनले भनिन्, ‘सबै नियम पालना गरेरै काम गरेका थियौं, यसभन्दा पहिलेको लकडाउनमा पनि यसरी नै काम गरेका हाै । तर यसपटक प्रहरीले बिनासूचना पक्राउ गर्यो, जुन तरिका भएन ।’
त्यस्तै, फुडमान्डुका सञ्चालक मनोहर अधिकारीलाई प्रहरी कार्यालयमा बोलाइएको थियो । उनी प्रहरी कार्यालय पुगे तर उनलाई यसबारे कुनै जानकारी दिइएन । उनले भने, ‘पहिलो पटकको लकडाउनमा पनि यसरी नै काम गरेका हौं । यसपटक प्रहरीले किन हाम्रो काममाथि हस्तक्षेप गर्यो, बुझ्न सकेको छैन ।’
मनोहर अधिकारी, संस्थापक, फुडमाण्डु
अधिकारीले फुड डेलिभरी गर्दै हिँडेका साथीलाई प्रहरीबाट बीच सडकमै रोकिएको जानकारी दिए । प्रहरीले उपत्यकाका युजी केक, फुडमान्डु, फुडमारियो तथा भोजडिलका राइडर तथा सञ्चालकलाई पक्राउ गरेको हो ।
फुड डेलिभरी गर्नेलाई किन बिनासूचना पक्राउ गरिएको भन्ने नेपाली पब्लिकको जिज्ञासामा काठमाडाै प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निषेधाज्ञा उल्लंघन गर्नेलाई कारबाही गरिएको जानकारी दिए । उनले भने, ‘अत्यावश्क सामग्रीभित्र होम डेलिभरी, फुड डेलिभरी जस्ता कुनै पनि कामलाई सरकारले सञ्चालन गर्न दिने भनेको छैन ।’
जनकराज दाहाल, प्रजिअ काठमाडौं
उनले भने, ‘होम डेलिभरी गर्दा एक जना मानिसले अन्य २० जनालाई कोरोना भाइरस सार्न सक्छ भन्ने आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।’
प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले लकडाउनको समयमा निषेधाज्ञा उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताए ।
उनले भने, ‘बिहान सवा ९ बजेको समयसम्म खाद्यान्न सामग्रीका पसल खोल्न दिइएको हो तर त्यसपछिको समयमा यस्ता काम गर्नेलाई कारबाही गरिएको हो ।’
एसएसपी श्याम ज्ञवाली
उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमार्फत खाद्य सामग्रीसम्बन्धी व्यवसाय निर्बाध रूपमा सञ्चालन गर्न पाउने जनाएको थियो ।