काठमाडौ– नेपाली सेनाले एक सहायकरथी (बिग्रेडियर जनरल)सहित तीन सैनिक अधिकारीलाई सेवाबाट बर्खास्त गर्ने भएको छ ।
समरी जनरल सैनिक अदालतले सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूरमा आइतबार सहायकरथी प्रयोगजङ राणा, महासेनानी (कर्णेल)नवीन सिलवाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई सैनिक सेवाबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।
साथै अदालतले सहसेनानी लक्ष्मीकान्त खनाल, सुवेदार भोजबहादुर विष्ट र जमदार विनोद बस्नेतलाई एक तह घटुवा गर्ने तथा प्राविधिक सहसेनानी फिरोज महर्जन र जमदार भद्रबहादुर शाहीलाई नसिहत दिने फैसला गरेको छ ।
अदालतले बिगो बराबरको रकम निजहरुबाट असुल उपर गर्ने निर्णयसहित फैसला गरेको हो । सहायकरथी राणाले रु. एक करोड ५२ लाख २७ हजार तथा महासेनानी सिलवालले रु. १५ लाख ७९ हजार रकम हिनामिना गरेको ठहर गरेको छ ।
सैनिक अदालतले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहर्याएको हो ।
अभियोगमा अनुसन्धानको दायरामा रहेका महासेनानी राजेन्द्रमणि गिरी र लेखा सुवेदार कर्मचारी नवराज पाण्डेलाई भने अदालतले सफाइ दिएको छ । उनीहरु अवकाश पाइसकेका सेनानी हुन् ।