काठमाडौं– छिमेकी मुलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । त्यसप्रति सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएकोे छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पु-याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।
तिब्बत क्षेत्रमा निरन्तरको वर्षाका कारणले ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले भोटेकोशीको बहाव बढेसँगै भोटेकोशी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ ।
तातोपानीलगायत सबै चौकीका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्यधिक वर्षापछि ताल फुट्न सक्ने जानकारी आएको थियो ।
भोटेकोशी तटीय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासन कार्यालयले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।