काठमाडौं– माघ ९ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचनसम्बन्धी आचार संहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार तथा तीनै तहका सरकारसँग अपिल गरेको छ। आयोगले निर्वाचनको मौन अवधि सुरु भइसकेकाले सो अवधिमा आचार संहिता विपरीतका काम कारबाही नगर्न तथा त्यस्ता क्रियाकलापका लागि उक्साहट नगर्न सबैसँग अपिल गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मौनअवधि सुरु भइसकेकाले यस अवधिमा कुनैपनि सञ्चार माध्यमबाट निर्वाचन प्रचार प्रसार नगर्न र नगराउन आग्रह गरेका छन्। पछिल्लो समय सामाजिक सञ्जाल प्रयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने काम हुने गरेको तर्फ संकेत गर्दै उनले भने वेभसाइट, ट्वीटर, फेसबुक, भाइवर वा एसएमएस लगायत कुनैपनि विद्युतीय माध्यमको प्रयोग गरी मत माग्ने काम नगर्न पनि आग्रह गरे।
उनले निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, गोष्ठी, सेमिनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट लगायतका कार्य समेत नगर्न सचेत गराए। आयोगले मौन अवधिमा आचार संहिताको पालना भएनभएको अनुगमन तथा सुपरिवेक्षण गर्न सबै जिल्ला निर्वाचन कार्यालय र सात वटै प्रदेशका उच्च अदालत रहेका जिल्लामा मतदान सम्पन्न गर्न स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले गर्ने व्यवस्था मिलाएको छ।