काठमाडाै- उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेदवारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद्भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उनले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेदवारको टुङ्गो लाग्नेबित्तिकै आफूले राजीनामा गरेको बताएका छन्।
उनले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिएका छन्। ‘संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ’, तुम्वाहाङ्फेले भने। उपसभामुखबाट राजीनामा गरेसँगै ट्र्याक परिवर्तन भएको उनको भनाइ थियो।
उनले आफ्नो दुईवर्षे कार्यकालमा संविधान र कानूनबमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गरेका छन्।असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकार अनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उनले स्पष्ट पारेका छन्।
‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ’, उनले भने। संसद् सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा गर्नुभएको थियो। गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ। आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।
(रासस)