काठमाडौं– मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे पक्ष र विपक्षमा तर्क चलिरहेकाे छ। यसैबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे राष्ट्रियसभा संसदीय दलको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीबारे ब्रिफिङ गर्दै यो पारित गर्नुको विकल्प नभएको जनाएका छन्।
मन्त्रीले नेकपाका राष्ट्रियसभा सदस्यलाई एमसीसीबारे विस्तृत रूपमा ब्रिफिङ गरेका छन्। ब्रिफिङका क्रममा उनले २००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको जनाएका छन्।
मन्त्री ज्ञवालीले भने, ‘यो गरिबी निवारण र पूर्वाधार विकास सम्बन्धी कार्यक्रम हो। इन्डोप्यासेफिकजस्ताे रणनीतिक वा सैन्य रणनीति हैन।’ मन्त्री ज्ञवालीले अब एमसीसीबारे तर्कवितर्क गरिरहने ठाउँ नरहेको बताएकाे नेकपा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराइले जानकारी दिए।