काठमाडौं– नेकपाका दुई अध्यक्षबिच आज (सोमबार) पनि भेटवार्ता भएको छ। सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।
नेकपा सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि सभामुख चयनको प्रकृया अघि बढाउने विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका हुन्।
आइतबार विहान प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख बनाउने सहमति गरेपछि प्रधानमन्त्री ओलीले उपसभामुख तुम्बाहाङ्फेलाई बालुवाटार बोलाएर राजीनामा गर्न आग्रह गरेका थिए। तर उपसभामुख शिवमायाले आफूले राजीनामा नदिने अडान गरिरहेकी थिइन्।
‘राजीनामा गर्नुपर्ने कारण लिखित रुपमा दिनुपर्ने’ माग उनले अध्यक्षसँग गरेकी थिइन्। तर उनले सोमबार(आज) विहानसम्ममा राजीनामा गर्ने अनुमान पार्टी अध्यक्षहरुले गरेका थिए। तर विहानसम्म पनि उपसभामुख शिवमायाको राजीनामा नआएपछि पार्टीका दुई अध्यक्षहरु छलफलमा जुटेका छन्।