काठमाडौं– प्रतिनिधिसभाकाे बैठक आज (साेमबार) एक बजेका लागि तय भएकाे बताइएकाे छ। गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्न लागेको हो।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो। लामाे समयसम्मकाे संवादपछि सत्तारूढ दल नेकपाले अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेकाे छ।
संघीय संसद् सचिवालयका अनुसार आजकाे बंठकमा सम्भवतः सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइने छ। प्रतिनिधिसभामा सत्तारूढ नेकपाको बहुमत रहेकाले नेकपाकै उम्मेदवार सापकोटा सभामुखमा विजयी हुने पक्का छ। प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक दल र लिंगबाट हुनुपर्ने प्रावधान भएकाले तत्कालीन एमालेबाट उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्लाई राजीनामा दिन पटकपटक आग्रह गरिएपनि उनले अटेर गरिरहेकी छिन्।
उनले आफ्नो राजीनामाले प्रतिनिधिसभामा थप रिक्तता आउने तर्क गर्दै राजीनामा नदिने बताएकी हुन्। नेकपाले सभामुख उम्मेदवार चयन गरेसँगै शिवमायाले राजीनामा दिनुपर्ने भएको हाे। सोमबार नै उपसभामुखबाट तुम्बाहाङ्ले राजीनामा दिए संसद् सचिवालयले एकसाथ सभामुख र उपसभामुखकाे निर्वाचन प्रक्रिया अगाडि बढाउने बुझिएकाे छ।