काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको विकासका लागि धेरै छलफल भएता पनिसरकार अब भने ‘एक्सन’मा जाने बताएका छन्।
आइतबार लुम्बिनी बिकास कोषले ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’बारे राखेको अन्तक्रिर्याका क्रममा मन्त्री भट्टराईले लुम्बिनीको विकास सरकारको प्राथमिकतामा समेत परेको बताए। मन्त्री मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको बिकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने उल्लेख गरे।
लुम्बिनी विश्वमा नेपाललाई चिनाउने सम्पदा मध्ये अग्रणी सम्पदा भएको भन्दै उनले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रुपमा बिकास गरिने उल्लेख गरे। लुम्बिनीको विकासका लागि अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनले बताए।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारी, योजना आयोगका सदस्य डा. रामकुमार फुयाल, पुन निर्माण प्राधिकरणका सिईओ सुशिल ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा.घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा. हृदयरत्न राज्य ब्रजाचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिएका थिए।