विराटनगर – प्रदेश १ का महिला सांसदहरुले प्रदेश सरकारमा महिला सहभागिता कम भएको जनाएका छन्। सरकार गठन भएको दुई वर्षपछि मन्त्रिपरषद् विस्तार गर्दा एकजना मात्र महिला राज्यमन्त्री बनेका छन्।
आइतबार मुख्यमन्त्री शेरधन राईले रामबहादुर मगर, विजयकुमार विश्वास, अम्बिर गुरुङ र जसमाया गजमेरलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। यसअघि पाँच सदस्यीय मन्त्रिपरिषद् थियो। त्यस गरि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै महिला सांसदहरुले आफूहरुमाथि नेतृत्वले अविश्वास गरेको बताएका हुन्।
‘संविधानले नै ३३ प्रतिशत महिला सहभागिता ग्यारेन्टी गरेको छ’ प्रदेशसभा सदस्य सीता थेबे भन्छिन्, ‘महिला सांसदलाई पार्टीले विश्वास नगरेजस्तो देखिन्छ।’ उनले भनि संघीय सरकारको मन्त्रिपरिषदमा पनि महिला सहभागिता कम भएको हो।
संसाद कृष्णकुमारी राई पनि पार्टीमा ३३ प्रतिशत सहभागिताको माग उठाएपनि सम्बोधन नभएको बताएका छन्। ‘हाम्रो माग त पहिलेदेखि नै ३३ प्रतिशत सहभागिता हुनुपर्छ भन्ने हो’ उनले भनिन्, ‘पार्टीले ३३ प्रतिशत सहभागिता र्पुयाउनुपर्छ ।’
अर्का संसाद कुसुमकुमारी श्रेष्ठ प्रदेश १ को मन्त्रिमण्डलमा बल्ल महिला सहभागिता भएको बताउँछिन्। उनले भनिन्, ‘३३ प्रतिशत नभएपनि महिला प्रतिनिधत्व भएको छ।’ नेकपाले सबैपक्षको अधिकारका लागि लडेको बताउँदै उनले भूगोल, जात र महिलालाई समेटेर मन्त्रिपरिषद् विस्तार भएको बताइन्।