काठमाडौं– मधेस आन्दोलनको आज १३ वर्ष पूरा भएको हो। आन्दोलनको सम्झनामा प्रत्येक वर्ष आजकै दिन अर्थात माघ पाँच गते बलिदानी दिवस मनाउने गरिएको छ।
२०६३ सालमा प्रहरीले अन्त्रिम संविधानको प्रतिलिपि जलाएपछि तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित केही कार्यकर्तालाई पक्राउ गरेको थियो। सो को विरोधमा सिरहाको लहानमा भएको प्रदर्शनमा विद्यार्थी रमेश महतोको मृत्यु भएपछि मधेशमा आन्दोलन चर्किएको थियो।
मधेस आन्दोलनको नेतृत्व गरेका दलहरुको नेतृत्वमै प्रदेश २ को सरकार बनेपनि मधेशका मुद्दा जहाँको त्यहीँ रहेको भन्दै सरोकारवालाहरुले असन्तुष्टि जनाउँदै आएका छन्। मधेश आन्दोलनको १३ वर्ष पूरा भएको अवसरमा प्रदेश २ सरकारले बलिदानी दिवस मनाउन आइतबार सार्वजनिक बिदा दिएको छ।