काठमाडौं– लामाे समयदेखि अल्मलिएकाे सभामुखकाे चयन प्रक्रियालाई अघि बढाउन प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन्। सभामुखकाे उम्मेदवारमा सहमति जुटाउन उनीहरूबीच बालुवाटारमा छलफल जारी छ।
नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन। यसबीचमा पटक–पटक सूचना टाँसेर बैठक स्थगित हुँदै आएको हो। उपसभामुख डा.शिवमाया तुम्बाहाङफेले नेकपाले सभामुखको उम्मेदवार तय गरेपछि आफूले राजीनामा दिने बताएकी छिन्।
उनी आफैं सभामुखको दाबेदार हुन् र उनले आफूलाई उम्मेदवार नबनाए राजीनामा नदिनेसम्मको चेतावनी दिँदै आएकी छन्। नेकपाका दुवै अध्यक्षले सभामुखमा आ–आफ्ना पूर्वसमूहका नेताको नाम अघि सारेका छन्। प्रधानमन्त्रीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने प्रचण्डले अग्नि सापकोटा लगायतका नेताको नाम अघि सारेका छन्।
नेकपाको केन्द्रीय सचिवालयका ९ जना नेतामध्ये प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सभामुख उम्मेवार प्रचण्डले प्रस्ताव गर्न पाउनुपर्ने पक्षमा रहेको प्रचण्डनिकट स्रोतले बताएको हो। अन्य नेताले दुवै नेताबीच सहमतिमै नाम तय गरेर सचिवालयमा ल्याउन सुझाव दिएका छन्।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्दैछ भने बैठकअघि नै नेकपाले सभामुखको उम्मेदवार तय गर्ने नेताहरुले जनाएका छन्। महासचिव बिष्णु पौडेलले दुवै अध्यक्षबीच सभामुख उम्मेदवार सहमतिमै तय हुने जानकारी दिएका छन्।