काठमाडौं– द्वन्द्वकालीन मुद्दा टुंग्याउने विषयमा शीर्ष नेताहरुबीच छलफल भएको छ। प्रधानमन्त्री ओलीको आयोजनामा शनिबार बालुवाटारमा द्वन्द्वकालीन न्यायसँग सम्बन्धित विषयमा शीर्ष नेताहरूबीच छलफल भएको हो।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्षकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाबाट संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेकपा नेता खिमलाल देवकोटा तथा कांग्रेस केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छलफलमा नेताहरु द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउने निष्कर्षमा पुगेका छन्।
उनीहरुबीच पुस २८ गते सातै प्रदेशमा गरेको छलफलमा उठेका सुझावका आधारमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी विधेयकलाई अगाडि बढाउने सहमति भएको बताइएको छ। सातै प्रदेशका द्वन्द्वपीडितका सुझावका आधारमा ऐन संशोधन गर्न विधेयक बनाउन कानुन मन्त्रालयलाई आग्रह गर्न दलहरू सहमत भएका हुन्।
उक्त विधेयक संसदमा पेश गरेर पारित गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरिने जनाइएको छ। यस्तै दलहरूबीच दुबै आयोगमा पदाधिकारी नियुक्तिबारे पनि सहमति जुटेको छ। पदाधिकारी सिफारिसका लागि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वमा गठित समिति बैठकले दिएका नाममा सहमति भएको हो।