काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्रारुढ दल नेकपा र प्रमुख प्रतिपक्ष दलका शीर्ष नेताहरुबीच छलफल भएको छ। सत्य निरुपण तथा वेपत्ता आयोगलाई पूर्णता दिन उनीहरुबिच छलफल भएको हो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दुई आयोगलाई पुर्णता दिने विषयमा छलफल केन्द्रीत भइरहेको छ।
छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतको सहभागीता रहेको छ। सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि नेताहरुबीच छलफल भएको हो।
गत वैशाखबाट दुवै आयोग पदाधिकारीविहीन छन्। सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएपनि नेताहरुवीच सहमति नहुँदा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिला भएको हो।