काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारमा विप्लव समूहले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।
‘विप्लवले कब्जा गरेर जग्गा कब्जा हुँदैन। नेपाल सरकार यस विषयको छानवीनमा आफैँ लागिपरेको छ। जसले जे भनेपनि त्यो जग्गा नेपाली जनताको र सरकारको हो। त्यो व्यक्तिहरुलाई दिन सकिँदैन। यो सब विप्लवको चर्चामा आउने कोशिस मात्र हो,’ उनले भने, ‘सार्वजनिक चासो भएको विषयमा एक्सन लिइयो भने शक्तिशाली हुनसकिन्छ कि भन्ने हुनसक्छ।’
त्यस्तै मन्त्री बाँस्कोटाले विप्लवकाे उक्त कार्य आतंकवादी क्रियाकलाप भएकोसमेत बताए। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो।