गलकोट– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङ नगर कमिटीले एक वडा एक प्रशिक्षण कार्यक्रम शुरु गरेको छ। सङ्गठन सुदृढीकरण अभियानअन्तर्गत नेकपाद्वारा निर्वाचित जनप्रतिनिधिलाई वडा–वडामा जनतासँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न गरेको नगर कमिटीले पुनः एक वडा एक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो।
बलेवा क्षेत्रबाट एक वडा एक प्रशिक्षण कार्यक्रम शुरु गरिएको नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले जानकारी दिएका छन्। मङ्गलबार बलेवाका वडा नं १२, १३ र १४ मा एकसाथ प्रशिक्षण कार्यक्रम गरेर अभियानको शुभारम्भ गरिएकोे नगर कमिटीले जनाएको छ।
प्रशिक्षण कार्यक्रमको शुभारम्भपछि बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले कार्यकर्ता पार्टीप्रति निःस्वार्थ भावनका साथ लाग्नुपर्ने बताएका छन्।
प्रशिक्षणमा सङ्गठन निर्माण तथा परिचालनका बारेमा पौडेलले, पार्टीको राजनीतिक कार्यदिशा र आगामी कार्यभारका विषयमा नेकपा गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, जनप्रतिनिधि र पार्टीको अन्तर सम्बन्धका विषयमा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, दर्शन र माक्सवादी सिद्धान्तका बारेमा जिल्ला इन्चार्ज बलावती शर्मा, नेपाली जनक्रान्तिमा प्रदेश सदस्य श्रीप्रसाद शर्मा र विकास निर्माणमा पार्टीको भूमिकाका विषयमा कृष्ण पाठकले प्रशिक्षण दिएको थियो। (रासस)