भद्रपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरण पश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ।
झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुङ्गेलले बताएका छन्। शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले जानकारी दिएका छन्।
पार्टी एकीकरणपछि बनेको नेकपामा दुई वर्षयता सदस्यको अद्यावधिक भएको थिएन। भिन्न दलबाट आएका सदस्यको भावनात्मक अन्तरघुलनका लागि समेत सदस्यता नवीकरण शिविर उपयोगी हुने पार्टीका विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँ बताउँछन्।
जिल्लामा नेकपाका ३२ हजार ८५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुङ्गेलले जानकारी दिएका छन्। उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार १९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट आठ हजार ६ सय ५७ सदस्य नेकपामा समाहित भएका छन्। (रासस)