काठमाडौं– नेकपा सचिवालयले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गरेकी उपसभामुख शिवमाया तुम्बाहाम्फे नेकपा नेताहरुको बोलावटपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेकी छिन्।नेकपाका शीर्ष नेताहरुले बोलाएपछि आइतबार साढे ११ बजेतिर उपसभामुख तुम्बाहाम्फे बालुवाटार प्रवेश गरेकी छिन्।
तुम्बाहाम्फे बालुवाटारमा पुग्दा त्यहाँ नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड सँगै थिएन, उनका साथै महासचिव विष्णु पौडेल र रक्षामन्त्री ईश्वर पोखरेल लगायतका नेताहरु पनि बालुवाटारमा भेला भएका छन्।
शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई आफ्नो पदबाट राजीनामा दिन र सभामुख निर्वाचनको बाटो खोल्न बताएको थियो , तर, उनले सचिवालयको निर्णयलाई चुनौती दिँदै आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राखेकी थिइन्। नेकपाले सभामुखको उम्मेदवार टुंग्याउन नसक्दा पुस ४ गतेदेखि संसद बैठक अवरुद्ध हुँदै आइरहेको छ, र पटक पटक सर्दै आएको बैठक आज आइतबार पनि बसन बेलाइएको छ।
उपसभामुखले राजीनामा दिएको अवस्थामा आजको बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा सञ्चालन हुने र सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताइएको छ। तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा आजको बैठक पनि सूचना टाँसेर स्थगित हुने सम्भावन छ।
उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउनुपर्ने माग गर्दै आएकी छिन्, र उनले सभामुख बन्नका लागि उपसभामुखबाट राजीनामा दिनुपर्ने हुन्छ। तुम्बाहाम्फेले उपसभामुख नछाडेको स्थितिमा संविधानतः सभामुख पदमा नेकपाले उम्मदेवारी दिने स्थिति रहँदैन।