काठमाडाैं– प्रजातान्त्रिक विचार समाजले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मुलुकको समसामयिक राजनीति, सरकारका तर्फबाट प्रस्तुत संविधान र विधेयकको बारेमा ध्यानाकर्षण गराएको छ। समाजका अध्यक्ष डा केदारनरसिंह केसीको नेतृत्वको टोलीले आज सभापति देउवालाई भेटेर वर्तमान सरकारबाट लोकतान्त्रिक मूल्य मान्यतामाथि निरन्तर प्रहार हुँदै गएको भन्दै ध्यानाकर्षण गराएको हो।
समाजले जनताको ठूलो मत पाएको सरकारले संविधान कार्यान्वयन र जनअपेक्षाअनुसार काम गरेर जनतालाई अनुभूति हुने खालको काम गर्न नसकेको भन्दै लोकतन्त्रलाई कमजोर बनाउने काम प्रजातान्त्रिक विचार समाजलाई स्वीकार्य नहुने बताएको छ। अध्यक्ष केसीले लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयन काँग्रेसको मूलजिम्मेवारी भएको बताउँदै कांग्रेसभित्रै आन्तरिक झगडा हुनु लोकतन्त्रलाई कमजोर बनाउने खेल भएको बताए।
“एकताबद्ध र बलियो भएर सरकार विरुद्ध उभिनुपर्ने काँग्रेस घरभित्रको खिचातानीमा अल्झिएको छ, यसरी अल्झिएको काँग्रेसले कसरी आफ्नो भूमिका निर्वाह गर्नसक्छ”,उनले भने। समाजले पार्टीभित्रको झगडाले काँग्रेसलाई माया गर्ने आम मानिसमा निराशा छाएको बताउँदै पार्टीलाई एकताबद्ध र मजबुत बनाउन पार्टी नेतृत्व लाग्नुपर्ने बताएको छ। रासस