काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक भएको बताएका छन्। आज (शुक्रबार) बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को बैठकमा रानीपोखरी, धरहरा लगायतमा भइरहेको कामहरुबारे सुनेपछि कार्यप्रगति सन्तोषजनक भएको बताएका हुन्।
प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले निजी आवास निर्माणमा ६२ प्रतिशत सम्पन्न भएको जनाएका छन्। उनले वैशाखसम्म रानीपोखरी तयार हुने र धरहरा पुनर्निर्माणले पनि गति लिएकोे बताए। प्रधानमन्त्री ओलीले त्यो सुनेपछि अहिलेसम्मको काम सन्तोषजक भएको भन्दै बाँकी काम छिटो गर्न पनि निर्देशन दिएका छन्।
आफूलाई भेट्ने विदेशीहरुले पनि पुनर्निर्माणमा उल्लेख्य प्रगति भएको सुनाउने गरेको भन्दै उनले अहिलेसम्म प्राप्त अनुभव संकलन गरेर सुरक्षित राख्न पनि आग्रह गरेका छन्। उनले एकीकृत वस्ती निर्माणमा पनि जागरण ल्याउनुपर्नेमा जोड दिएका छन्।