काठमाण्डौ– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानको मर्म र भावनाअनुसार आ–आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन्। नेपाल नगरपालिका सङ्घद्वारा सोमबार विराटनगरमा आयोजित प्रदेशस्तरीय अन्तर सरकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन तहका सरकारले संविधानको मर्म र भावनाअनुसार आ–आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका हुन्।
साझा अधिकारको प्रयोगसम्बन्धी कानून छिटो बनाउन सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको जानकारी दिँदै उनले भने, ‘साझा अधिकार प्रयोग सम्बन्धी कानून निर्माणमा संवेदनशील हुनुपर्छ।’
मुख्यमन्त्री राईले स्थानीय तहले कानून निर्माण, कार्यान्वयन र जनतामा नजिता पस्कनुपर्नेमा जोड दिँदै आगामी दिनमा प्रदेश सरकारले कानून निर्माणमा स्थानीय तहसँग सहकार्य गर्ने छ भने।
प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले संविधान निर्दिष्ट अधिकार कतैबाट कटौती हुन नहुने चर्चा गर्दै स्वास्थ्य, माध्यमिक तहको शिक्षाको अधिकार स्थानीय तहलाई नै भएको बताए। आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताको सरकार स्थानीय निकाय भएको चर्चा गर्दै यसको सफल सञ्चालनबाट प्रदेश सरकारको सफलता जोडिएको हुन्छ भने।
नेपाल नगरपालिका सङ्घका केन्द्रीय अध्यक्ष अशोक ब्याञ्जूले संविधानको भावनाअनुसार सङ्घीयतालाई सफल कार्यान्वयन गर्न स्थानीय तहलाई बलियो बनाउनुपर्छ भने। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सङ्घ, प्रदेश र स्थानीय निकायको बीच आपसी समन्वयवाट दिगो विकासको लक्ष्य पूरा हुने धारणा व्यक्त गरे। रासस