विराटनगर– नेपाल भ्रमण वर्ष–२०२० आज यहाँ भव्यरूपमा शुभारम्भ गरिएको छ। स्थानीय शहीद रङ्गशालामा आयोजित शुभारम्भ कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सैनिक विद्यालय धरान, लाखेनाच, नेपाल स्काउट, विभिन्न जातजातिले झाँकी प्रदर्शन गरे।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई सुन्दर पर्यटकस्थल बनाउन प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए। उनले पर्यटन क्षेत्रबाट ग्रार्हस्थ उत्पादन अगामी दिनमा १।५ प्रतिशतबाट ५ प्रतिशत बनाउने भन्दै यस क्षेत्रको समग्र विकास गरी गरीबी निवारण र रोजगारी सिर्जन गरिने बताए।
प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले यसको पूर्वाधार विकासमा लागि परेको जानकारी दिँदै उनले पर्यटन क्षेत्रको विकास गरी यस क्षेत्रमा आगामी दिनमा ३२ हजार रोजगारी सिर्जना हुने दावी गरे। अध्यायन र अनुसन्धानका लागि यो प्रदेश निकै महत्वपूर्ण हुने बताउँदै मुख्यमन्त्री राईले पर्यटन क्षेत्रको विकास गरी समृद्धिको आधार तयार हुने धारणा राखे।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले हामीसँग प्रशस्त सम्भावना हुँदा पनि देशले अग्रता लिन सकेन, अब मुलुकमा भएको पछिल्लो राजनीतिक परिवर्तनले यी सबै सम्भावनाको उच्चतम प्रयोग र उपयोग गरी पर्यटकस्थलको रुपमा विकास गर्ने बताए।
उहाँले पर्यटक मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले यसलाई अलग गरेर देशमा विकास हुन नसक्ने भन्दै प्रदेश नं १ भौगोलिक, धार्मिक, ऐतिहासिक, आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले पनि बेग्लै पहिचान बनाएकाले यसको समग्र विकासमा प्रदेश सरकार गम्भीर भएको उल्लेख गरे।
नेपालमा भ्रमण वर्षको शुरुवात सन् १९९८ बाट शुरु भएको हो भने दोस्रो भ्रमण वर्ष २०११ र तेस्रो नेपाल भ्रमण वर्ष २०२० लाई कायम गरेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा मनाउन विस २०७४ साउन २९ गते घोषणा गरेको थियो।
प्रत्येक प्रदेश र सङ्घीय सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सफल बनाउन तीव्र गतिमा काम गरिरहेको पाइएको छ। यही सन्दर्भमा नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रूपमा मनाउन सरकारले छनोट गरेको १०० गन्तव्यस्थानमा प्रदेश नं १ मा १६ स्थान रहेको छ। यी सबै स्थानको विकास विस्तर एवं पूर्वाधार निर्माण गर्न प्रदेश सरकारले रु एक अर्ब ५१ करोड विनियोजन गरेको छ। रासस