चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्। क्षेत्रीय होटल सङ्घ सौराहाद्वारा आयोजित १६ औँ हात्ती महोत्सवको आज सौराहामा शुभारम्भ गर्दै उनले पर्यटन क्षेत्रको विकास कहिल्यै नसकिने जनाए।
उनले भने, “अरु क्षेत्रको विकासको एउटा विन्दु हुन्छ तर पर्यटन क्षेत्रमा सधैँ विकासको खाँचो परिरहन्छ।” अध्यक्ष दाहालले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० ले अन्तर्राष्ट्रिय जगत्मा नयाँ सन्देश प्रवाह गरेको बताए। उनले भने, “निकुञ्ज ऐन २०२९ संशोधनको प्रक्रिया अगाडि बढेको छ । नयाँ आउने ऐनले मानव, वन्यजन्तु र निकुञ्जको हित गर्नेछ।”
हात्तीको प्रयोग मानिसमात्र नभई देवताले पनि कसरी गरेका थिए भन्ने कुरा हाम्रा शास्त्रमा धेरै लेखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भने, “मानवलाई वन्यजन्तुको सहयोग र वन्यजन्तुलाई मानवको सहयोग चाहिन्छ। मानव र वन्यजन्तुबीचको सुमधुर सम्बन्धमा खाडल पैदा गर्नु हुँदैन।” रासस