काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपसभामुख डा.शिवमाया तुम्बाहम्फेले डाकेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागि हुने निर्णय गरेको छ। यससँगै संसदको हिउँदे अधिवेशनको सुरुवात उपसभामुखकै अध्यक्षतामा हुनेछ।
यसअघि कांग्रेसले नियमावलीको कुरा गर्दै उपसभामुखको चाहनामा बाधक बन्ने संकेत गरेको थियो। संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले पनि कांग्रेस पछि हटेको बताइएको छ। संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखलाई अधिकार दिइएकाे छ।
उपसभामुख डा.तुम्बाहम्फेले शुक्रबार दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छन्। सभामुख निर्वाचनअघि नै उनलाई राजीनामा दिन नेकपाले आग्रह गरेकाे छ।
तर उनले संसद अधिवेशनको सुरुवात आफैंले गर्ने अडान लिएकी थिइन्। शुक्रबार संसद् अधिवेशनको सुरुवात गरेपछि तुम्बाहम्फेले राजीनामा दिने बताइएको छ।