काठमाडौं– पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गोकर्ण विष्टले नेकपा र सरकार दलालवाद संरक्षणमा लाग्ने की समाजवाद स्थापना उन्मुख हुने भन्नेबारे विचार गरिनुपर्ने बताएका छन्।
बुधवार पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा उनले पार्टी समाजवादको बाटोमा छ कि दलालवादलाई जोगाउने पक्षमा स्पष्ट नभएको जनाएका हुन्। छलफलमा उनले, ‘पार्टीका काम र प्रयासहरु समाजवाद उन्मुख छन् कि दलालवादलाई जोगाउने पक्षमा?’ भन्दै प्रश्न गरेका थिए।
पार्टीभित्र बढिरहेको गुटबन्दीले आफू निराश भएको बताउँदै विष्टले गुटबन्दी अन्त्यका लागि पार्टी नेतृत्व नै जिम्मेवार हुनुपर्ने जनाए। उनले सरकारको काम पूँजीवादलाई टिकाउने भन्दापनि जनमुखी र जनताको पक्षमा हुनुपर्नेमा जोड दिए।