रत्ननगर– पूर्वप्रधामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका दुई बालकको घर बन्ने भएको छ। अध्यक्ष प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गरेको अरुण मुसहर र पत्रुस माझीसहित पाँच घरपरिवारको घर बन्न लागेको हो।
भरतपुर–२७ स्थित साझापुरको सडकछेउमा रहेको सरकारी जग्गामा ती बालक काँस निर्मित अव्यवस्थित घरमा बस्दै आएका छन्। अभिभावकत्व ग्रहणपछि यी दुई बालकको शैक्षिक अवस्थामा भने निकै सुधार आएको विद्यालयका शिक्षक बताउँछन्। झुपडी घरलाई विस्थापित गरी दुईकोठे पक्की घर निर्माण गर्न लागिएको वडाध्यक्ष गोविन्द गुरुङले जानकारी दिएका छन्।
भरतपुर महानगरपालिकाको पहलमा घरको नक्सा बनाउने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन्। यस क्षेत्रमा जङ्गली जनावरको पनि जोखिम छ। ‘शौचालयसहितको दुईकोठे घर एक महिनाभित्रै निर्माण गरिसक्ने योजना बनाएका छौँ’, अध्यक्ष गुरुङले भने।
दैनिक मजदुरी र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय छाप्रोजस्तो घरमा बसेका थिए। अब बन्न लागेको प्रतिघर रु दुई लाख खर्च हुने अनुमान गरिएको छ। महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकालाई खरमुक्त घर निर्माण गर्ने योजनाअनुसार ५०० बढी घरपरिवारलाई निःशुल्क जस्तापाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको बताएका छन्।
दाहालले तीमध्ये माझी समुदायको घरको अवस्था जीर्ण भएकाले पाँच घर तत्काल निर्माण गर्न लागेको बताए। जिल्लामा चिसो ह्वात्तै बढेसँगै ती घरपरिवारलाई न्यानो कपडा उपलब्ध गराइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले उनीहरुलाई कम्बल, ज्याकेट र खाद्यान्न सामग्री दिइएको जानकारी दिएका छन्। (रासस)