काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले समृद्ध मुलुक निर्माणका लागि असल संस्कार आवश्यक रहेको बताको छ। संस्कार समाज नेपालले आज यहाँ आयोजना गरेको ‘हरेक महिना १ गते, एक घण्टा १०० मिटर सरसफाई अभियानको शुभारम्भ’ कार्यक्रममा उहाँले असल संस्कारले मात्र मुलुकको विकास सम्भव रहेको बताएको हो।
मन्त्री बस्नेतले काम र मेहनत गर्ने मान्छेलाई सरकारले उच्च सम्मान गर्ने बताएका छन्। उनले असल संस्कार अभियान सरसफाइमा मात्र केन्द्रीत नभई गरिब तथा असहाय मानिसको सेवामा लाग्नुपर्ने बताए। ‘सबै व्यक्तिमा असल संस्कार भए मात्र वातावरणसमेत स्वच्छ बनाउन सकिन्छ,’ मन्त्री बस्नेतले भने।
अभियानमा सरकारको पूर्ण सहयोग रहने उनको भनाइ छ। काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले संस्कार समाज नेपालले छोटो समयमा समाजमा असल संस्कार निर्माणका लागि महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
विसं २०७५ मा स्थापना भएको सो समाजले जनचेनामूलक कार्यक्रम, सरसफाई, रक्तदान, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको समाजका अध्यक्ष पशुपति गुरुङले जानकारी दिए। ‘हरेक महिना १ गते, एक घण्टा १०० मिटर सरसफाई अभियान’मा अहिलेसम्म विभिन्न १८ सङ्घ संस्थाले ऐक्यबद्धता जनाइसकेका छन्। (रासस)