जलेशवर– महोत्तरी जिल्लामा चार वटा विभिन्न पदका लागि भएको उपनिर्वाचनमा चार पार्टीको पोल्टामा परेका छन्। जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडा अध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपा, कांग्रेस, राजपा र समाजवादी पार्टीका उम्मेदवार निवाचित भएका छन्।
जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विक्रम चौधरीले तीन हजार २४९ मत ल्याएर निर्वा्चित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याएका थिए।
त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाली कांग्रेसका विपिन पञ्जीयार सुडीले ४६१ मत ल्याई विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार वृजलाल साह सुडीले ३५२ मत ल्याएका थिए।
यसैगरी बलवा नगरपालिकाकै वडा नं ८ मा भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतोले ६५९ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका निर्मल यादवले ३४६ मत ल्याएका थिए।
त्यसैगरी मटिहानी नगरपालिका–६ को वडाध्यक्ष पदमा राजपा नेपालका रामबाबु नायक ३७५ मत प्राप्त गरी निवाचित भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याएका थिए।
विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्ष पदमा राजपा नेपाल विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ। अन्य तीन स्थानमा पुनः पहिले जितेका पार्टीनै दोहोरिएका छन्। रासस