भक्तपुर– भक्तपुरको प्रदेश १ (क) मा २०७४ निर्वाचनकाे नतिजा उल्टिएको छ। २०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय ८९ मत ल्याएर विजयी भएका थिए।
तर शनिबार भएको उपनिर्वाचनमा उक्त नतिजा उल्टिएको छ। प्रदेश १ (क) मा नेपाली कांग्रेसले जितेको छ। अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४ सय ४९ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याएका छन्।
विजयी भएका भँडेलले कांग्रेसका पूर्वक्षेत्रीय सभापतिसमेत रहेर काम गरेका थिए। उनी पहिलो संविधानसभा २०६४ मा उम्मेदवार थिए। यससँगै नेपाल कम्युनिष्ट पार्टीबाट कांग्रेसले यो क्षेत्र खोस्न सफल भएको छ। अन्तिम नतिजाको औपचारिक घोषणा हुन बाँकी रहेको छ।