रोल्पा– रोल्पाको थबाङ गाउँपालिका–१ मतदान केन्द्रमा १६ प्रतिशत मात्रै मतदान भएको छ। शनिबार दिउँसो ४ बजेसम्ममा उक्त केन्द्रमा १६.०९५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जनाएको छ।
वडा अध्यक्ष पदको लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्म दुई सय ५ मत खसेको छ। १ हजार २ सय ७४ मतदाता रहेको यस वडामा बिहानैदेखि मतदाताको न्यून उपस्थिति थियो। दिउँसो दुई बजेदेखि मतदान स्थलमा मतदाता छैनन्। सत्ताधारी नेकपाका उम्मेदवार जनकबहादुर बुढा र नेपाली कांग्रेसका उम्मेदवार कलम रोकाले पनि मतदान गरिसकेका छन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आस्थावान मतदाताले मतदानमा भाग नलिएपछि न्यून मतदान हुने अनुमान गरिएको थियो। साँझ ५ बजेसम्म पनि मत बढ्ने अवस्था छैन। विप्लव नेतृत्वको नेकपा आस्थावान स्थानीय नेता कार्यकर्ता मतदान स्थल नजिकै आएपनि मत दिएनन्।