काठमाडौं– संघ, प्रदेश र स्थानीय तहमा आज (शनिवार) उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि आज उपनिर्वाचन हुँन लागेको हो।
निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु हुदैछ। अपराह्र साँझ ५ बजेसम्म मतदान जारी रहने छ। मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई आह्वान गरिएको छ।
प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यो उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ। अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरिएको छ।
प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ स्थान रिक्त छन्। तत्कालीन पर्यटन मन्त्री तथा कास्की क्षेत्र नं. २ का सांसद् रवीन्द्र अधिकारीको निधन भएपछि यो स्थान रिक्त छ। त्यस्तै, प्रदेशसभाको भक्तपुर १(१), बागलुङ २(२), दाङ ३–२ मा पनि छ र ती पद पूर्तिका लागि आज उपनिर्वाचन हुँदैछ।
स्थानीयतर्फ सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखका लागि चुनाव हुँदैछ। पाँचथरको फाल्गुनन्द, संखुवासभाको मकालु र महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष तथा हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद पनि रिक्त छ। त्यस्तै, नगरपालिका तथा गाउँपालिकाका रिक्त ४३ वडाध्यक्ष पदका लागि पनि आज चुनाव हुँदैछ।