भक्तपुर– मङिसर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गर्नुभएको हो। उहाँले भक्तपुर नगरपालिका–१० मा पाँच वटा मतदान केन्द्र रहेको सरस्वती विद्यागृह मावि नवदुर्गा स्थानको मतदान केन्द्रको स्थलगत निरीक्षण गरेका छन्।
त्यसैगरी उनले मतगणनास्थल विद्युत् प्राधिकरण तालीम केन्द्र खरीपाटीको समेत अनुगमन गर्नुभएको थियो। सो अवसरमा आयुक्त दाहालले स्वच्छ, स्वतन्त्र र निष्पक्षरुपमा मतदाताले मतदान गर्न पाउने व्यवस्था मिलाउन मतदान केन्द्रमा खटिएका सबै कर्मचारीलाई निर्देशन दिएका छन्।
मतगणनास्थलमा पनि सबैको नियमानुसार सहज प्रवेश तथा सूचना सम्प्रेषणको लागि सञ्चारमाध्यमलाई विशेष स्थान दिनुपर्नेमा उनले जोड दिएका छन्।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, मुख्य निर्वाचन अधिकृत जगतनारायण प्रधान र जिल्ला निर्वाचन अधिकारी घमचन्द्र तिम्सिनाले सुरक्षा व्यवस्था मजबुत भएको जानकारी गराएका छन्।
सबै मतदान केन्द्रमा मतदान अधिकृत आआफ्नो मतदान केन्द्रमा पुगिसकेको र सर्वदलीय बैठक राखी मतदाता परिचयपत्रसमेत वितरण गरिएको छ। आज मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र बझ्ने कार्यक्रम छ। रासस